नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
छहरे–टोखा सडकखण्डमा शनिबार बिहान काभ्रेबाट छहरे–टोखा हुँदै दुप्चेश्वरतर्फ जाँदै गरेको बस थानाभञ्ज्याङमा रोकिएको अवस्थामा अचानक गुडेर सडकमा रहेको विद्युतीय गाडीलाई ठक्कर दिएको विदुर खबरले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। ठक्करपछि बस र विद्युतीय गाडी दुवै सडकबाट करिब ५० मिटर तल खसेका थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौंको ग्रीनसिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा काभ्रेको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको जनाइएको छ।
घाइते हुनेमा सर्लाहीको लालबन्दी–९ की २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया प्रमिला श्रेष्ठ र दोलखाको मेलुङ–६ का ६० वर्षीय ज्ञानु श्रेष्ठ रहेका छन्। उनीहरूको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। रोकिएको बस अचानक कसरी गुड्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसअघि दुर्घटनालगत्तै घाइतेको संख्याबारे प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। उपचार तथा प्रहरीबाट प्राप्त पछिल्लो विवरणपछि समाचार अद्यावधिक गरिएको हो।



