सुनसरीमा भएको घटनापछि प्रधानमन्त्री बालेनले सार्वजनिक सन्देश जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्रीले सुनसरीको घटनाबाट समाजमा डर, आक्रोश र अशान्ति फैलिएको उल्लेख गर्दै यस्तो अवस्था कुनै पनि हिसाबले स्वीकार्य नभएको बताएका छन्। उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाएका छन्।
उनका अनुसार घटनामा ज्यान गुमाएका परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको छ। साथै, सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको विषयलाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।
प्रधानमन्त्री बालेनले सरकारले सम्पूर्ण घटनाको समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू अघि बढाइरहेको जानकारी दिएका छन्। उनले सबैलाई संयमित रहन, उत्तेजना तथा बदलाको भावनाबाट टाढा रहन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सन्देशको अन्त्यमा उनले मानवताको रक्षा, नागरिकको सुरक्षा तथा पीडितलाई न्याय दिलाउनु सरकारको प्रमुख जिम्मेवारी भएको दोहोर्याउँदै सबैलाई प्रेम, सम्मान र सामाजिक एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन्।




0 प्रतिक्रिया