नुवाकोट। भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। यही विपत्तिले १३ वर्षीय गौरव मिजारको जीवनमा पनि गहिरो पीडा थपिदियो। बाढीले उनका बुवालाई बगाएपछि उनी बेपत्ता छन्। बुवाको अवस्था अझै अज्ञात हुँदा गौरव आश्रयस्थलमा बसेर उहाँ फर्किने आशामा दिन बिताइरहेका छन्।
गौरवको बाल्यकाल पनि सहज रहेन। उनी सानै हुँदा आमाले घर छाडेकी थिइन्। पछि बुवाले दोस्रो विवाह गरे पनि सौतेनी आमाले समेत उनीहरूलाई छाडेपछि गौरवको सम्पूर्ण हेरचाह र पालनपोषणको जिम्मेवारी बुवामाथि थियो। तर बाढीले बुवालाई समेत बेपत्ता बनाएपछि गौरवको जीवनमा ठूलो अनिश्चितता छाएको छ।
उनी अझै पनि बुवालाई सम्झँदै खोजिरहेका छन्। बुवाको साथ, माया र संरक्षण गुमाएका गौरवका लागि अहिले सबैभन्दा ठूलो प्रश्न भविष्यको हो—अब उनको खानपान, शिक्षा, स्वास्थ्य र सुरक्षाको जिम्मेवारी कसले लिने?
गौरवको कथा एउटा बालकको व्यक्तिगत पीडा मात्र होइन। बाढीपहिरो, दुर्घटना तथा अन्य विपत्तिका कारण अभिभावक गुमाएर सहाराविहीन बन्न पुगेका धेरै बालबालिकाको साझा समस्या हो। यस्ता बालबालिकालाई केही दिनको राहत वा अस्थायी आश्रय दिएर मात्रै राज्यको दायित्व पूरा हुँदैन।
राज्यले गौरवजस्ता बालबालिकाको दीर्घकालीन संरक्षणको सुनिश्चितता गर्न आवश्यक छ। उनीहरूको उचित शिक्षा, स्वास्थ्योपचार, पोषण, सुरक्षित आवास तथा मनोसामाजिक सहयोगको व्यवस्था गरिनुपर्छ। साथै, उनीहरू आत्मनिर्भर बन्न सक्ने अवस्थासम्म निरन्तर संरक्षण र सहयोग उपलब्ध गराउने स्पष्ट योजना आवश्यक छ।
बालबालिकाको भविष्य केवल उनीहरूको भाग्यमा छोड्न मिल्दैन। अभिभावक गुमाएका बालबालिकाको संरक्षण, सम्मान र उज्ज्वल भविष्य सुनिश्चित गर्नु परिवार, समाज र राज्य सबैको साझा जिम्मेवारी हो।
गौरवको आँसु पुछ्ने सहानुभूति मात्रै होइन, उनको भविष्य सुनिश्चित गर्ने ठोस कदम आवश्यक छ।