सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ले अरू प्रयोगकर्ताको सामग्री कपी वा पुनःअपलोड गरेर आम्दानी गर्ने प्रवृत्तिमाथि कडाइ गर्ने भएको छ। प्लेटफर्मले मौलिक सामग्री सिर्जना गर्ने प्रयोगकर्तालाई प्राथमिकता दिँदै कपी गरिएका पोस्टबाट प्राप्त हुने आम्दानी वास्तविक सिर्जनाकर्तालाई उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
एक्सका प्रोडक्ट प्रमुख निकिता बियरका अनुसार प्लेटफर्मले अरूको भिडिओ वा लोकप्रिय टेक्स्ट पोस्ट पुनःअपलोड गरिएको पहिचान गरी त्यसबाट आउने इम्प्रेसन र आम्दानी मौलिक सामग्री पोस्ट गर्ने प्रयोगकर्ताको खातामा गणना गर्नेछ। पुनःअपलोड गर्ने व्यक्तिले भिडिओमा आफ्नो वाटरमार्क, परिचय वा अन्य सामान्य परिवर्तन थपे पनि त्यसलाई मौलिक सामग्रीका रूपमा मान्यता नदिइने बताइएको छ।
अरूको सामग्रीमा आफ्नो प्रतिक्रिया वा टिप्पणी थपेर पोस्ट गर्न चाहने प्रयोगकर्तालाई एक्सले ‘कोट’ वा ‘सेयर भिडिओ’ सुविधा प्रयोग गर्न सुझाव दिएको छ। यसो गर्दा सामग्रीको वास्तविक स्रोत पहिचान हुने र सम्बन्धित सिर्जनाकर्ताले उचित श्रेय तथा आम्दानी पाउने प्लेटफर्मको भनाइ छ।
एक्सले कृत्रिम रूपमा लाइक, रिप्लाई, फलोअर वा अन्य इन्गेजमेन्ट बढाउने गतिविधिमाथि पनि कारबाही गर्ने जनाएको छ। “रिप्लाई गर्ने सबैलाई फलो गर्छु” जस्ता सन्देश राखेर तीन वा सोभन्दा बढी पटक प्रत्यक्ष रूपमा इन्गेजमेन्ट माग्ने प्रयोगकर्तालाई क्रियटर रेभेन्यु सेयरिङ कार्यक्रमबाट हटाइनेछ। त्यस्ता खातालाई निलम्बन गर्नुपर्ने वा नपर्ने विषयमा समीक्षा गर्न एक्सको नीति कार्यान्वयन टोलीसमक्ष पठाइने व्यवस्था गरिएको छ।
प्लेटफर्मले नयाँ व्यवस्थाबाट १० लाख अमेरिकी डलरभन्दा बढी रकम मौलिक सामग्री सिर्जना गर्ने प्रयोगकर्तातर्फ पुनःवितरण हुने जनाएको छ। एक्सले यसअघि पनि निरन्तर अरूका समाचार, भिडिओ तथा पोस्ट कपी गरेर ठूलो परिमाणमा सामग्री प्रकाशन गर्ने खाताको आम्दानी कटौती गर्दै आएको थियो।
नयाँ नीतिले सामग्री पुनःप्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको भने होइन। स्रोत खुलाएर एक्सका आधिकारिक सेयरिङ सुविधा प्रयोग गर्न सकिनेछ। तर अरूको सामग्री आफ्नै सिर्जनाजस्तो प्रस्तुत गरी प्लेटफर्मको आम्दानी कार्यक्रममा लाभ लिने गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले यो व्यवस्था लागु गरिएको हो।

