काठमाडौं।
चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीत विवादमा परेपछि निर्माण पक्षले उक्त गीत युट्युब तथा अन्य सामाजिक सञ्जाल प्लेटफर्मबाट हटाएको छ। गीतमा प्रयोग गरिएका केही शब्द तथा प्रस्तुतीकरणप्रति चौतर्फी विरोध भएपछि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले छुट्टाछुट्टै सार्वजनिक सन्देशमार्फत दर्शक, शिक्षक–शिक्षिका तथा सरोकारवालासँग क्षमायाचना गरेका हुन्।
भदौ १२ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको उक्त गीतमा केही शब्द र दृश्य द्विअर्थी तथा अश्लील भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। विशेषगरी शिक्षक समुदायले गीतले शिक्षण पेसाको गरिमामा आँच पुर्याएको भन्दै आपत्ति जनाएका थिए।
नेपाल शिक्षक महासंघ, महिला शिक्षक समाजलगायत विभिन्न संस्थाले विज्ञप्ति जारी गर्दै गीत हटाउन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका थिए। त्यसपछि विवाद झन् चर्किँदै गएको थियो।
निर्मात्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफ्नो वा निर्माण टिमको उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको सम्मानमा चोट पुर्याउने नभएको उल्लेख गरेकी छन्। उनले गीतका कारण शिक्षक समुदाय तथा दर्शकको भावनामा पुगेको चोटप्रति व्यक्तिगत तथा निर्माण टोलीका तर्फबाट क्षमा माग्दै आगामी सिर्जनामा अझ जिम्मेवार र संवेदनशील बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले विवादित गीत चलचित्रको मुख्य कथावस्तुको हिस्सा नभई प्रचारका लागि मात्र तयार गरिएको सामग्री भएको पनि स्पष्ट पारेकी छन्।
त्यस्तै गीतका सर्जक, गायक तथा मोडल दुर्गेश थापाले पनि सार्वजनिक सन्देशमार्फत आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले शिक्षक–शिक्षिका तथा दर्शकको भावनामा चोट पुगेको महसुस गर्दै गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जाल प्लेटफर्मबाट हटाइएको जानकारी दिएका छन्।
उक्त गीत जुलाई १४ मा सार्वजनिक गरिएको थियो। गीतमा दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको थियो। गीतको एउटा अंशलाई लिएर सामाजिक सञ्जालमा व्यापक बहस भएको थियो। त्यसपछि विभिन्न शिक्षक संगठन, सांस्कृतिक क्षेत्रका व्यक्तित्व तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतको भाषा र प्रस्तुतीकरणप्रति असन्तुष्टि जनाएका थिए।
चलचित्र क्षेत्रका केही व्यक्तित्वले पनि सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले विवादास्पद प्रस्तुतीकरण गरिएको भन्दै आलोचना गरेका थिए। सुरुमा निर्माण पक्षले आफ्ना प्रस्तुतीकरणको बचाउ गरे पनि निरन्तर बढ्दै गएको सार्वजनिक दबाब, शिक्षक समुदायको विरोध तथा चलचित्र बहिष्कारको चेतावनीपछि अन्ततः गीत हटाउने निर्णय गरिएको हो।
‘मास्टर्नी’ चलचित्र प्रियंका कार्कीको निर्माण कम्पनी आयंका फिल्म्स को ब्यानरमा निर्माण भएको हो भने यसको निर्देशन सुवेन्दु घोष ले गरेका छन्। विवादित गीत हटाइएपछि निर्माण पक्षले आगामी दिनमा सिर्जनात्मक सामग्री प्रस्तुत गर्दा सामाजिक संवेदनशीलता र जिम्मेवारीलाई थप प्राथमिकता दिने जनाएको छ।

