अमेरिकाको वर्तमान प्रविधि र नवप्रवर्तनको प्रतिनिधित्व गर्ने वस्तुका रूपमा आईफोन १७ प्रो म्याक्सलाई २५० वर्षसम्म सुरक्षित राखिने ‘टाइम क्याप्सुल’मा समावेश गरिएको छ।

अमेरिकाको स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा तयार गरिएको उक्त टाइम क्याप्सुल अमेरिकाको फिलाडेल्फियास्थित इन्डिपेन्डेन्स नेसनल हिस्टोरिकल पार्कमा राखिएको हो। यसलाई सन् २२७६ जुलाई ४ मा अमेरिकाले आफ्नो ५००औँ वार्षिकोत्सव मनाउँदा खोल्ने योजना छ।

‘अमेरिका२५०’ अभियानअन्तर्गत आईफोन १७ प्रो म्याक्सलाई सन् २०२६ को अमेरिकी उपभोक्ता प्रविधि, मोबाइल कम्प्युटिङ, फोटोग्राफी र सञ्चार विकासको प्रतीकका रूपमा छनोट गरिएको बताइएको छ। टाइम क्याप्सुलभित्र अमेरिकाका राज्य तथा भूभागबाट संकलित सामग्री, ऐतिहासिक दस्तावेज, विद्यार्थीका लेख, खेलकुदसँग सम्बन्धित वस्तु र अन्य सांस्कृतिक सामग्रीसमेत राखिएका छन्।

तर २५० वर्षपछि टाइम क्याप्सुल खोलिँदा आईफोन सञ्चालन हुने सम्भावनामा प्रविधिविज्ञहरूले आशंका व्यक्त गरेका छन्। लामो समयसम्म प्रयोग नगरी राख्दा फोनमा जडित लिथियम–आयन ब्याट्री पूर्ण रूपमा बिग्रन सक्ने, फुल्ने वा चुहावट हुन सक्ने जोखिम रहन्छ। त्यस अवधिसम्म अहिलेको चार्जिङ प्रविधि, सफ्टवेयर प्रणाली, नेटवर्क र सुरक्षा प्रमाणीकरण विधि पनि प्रयोगमा नरहन सक्छन्।

फोनको हार्डवेयर बाहिरी रूपमा सुरक्षित रहे पनि त्यसलाई सञ्चालन गर्न आवश्यक अपरेटिङ सिस्टम, पासकोड, एप्पलको सर्भर तथा डिजिटल सेवाहरू उपलब्ध हुने निश्चित छैन। त्यसैले भविष्यका मानिसले यसलाई चल्ने सञ्चार उपकरणभन्दा पनि २१औँ शताब्दीको ऐतिहासिक प्रविधि नमुनाका रूपमा हेर्न सक्ने सम्भावना बढी देखिन्छ।

टाइम क्याप्सुललाई चिस्यान र पानीबाट जोगाउन स्टेनलेस स्टिलबाट तयार गरिएको छ। यसको बाहिरी भागमा थप धातुको सुरक्षा संरचना राखेर भित्रका सामग्रीलाई लामो समयसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ। टाइम क्याप्सुल निर्माणमा अमेरिकी राष्ट्रिय मानक तथा प्रविधि संस्थान, लाइब्रेरी अफ कंग्रेस र नेसनल पार्क सर्भिसका विज्ञहरूको संलग्नता रहेको जनाइएको छ।

लाइब्रेरी अफ कंग्रेसले ऐतिहासिक दस्तावेजका डिजिटल प्रतिलिपि सिन्थेटिक डीएनएमा भण्डारण गरी टाइम क्याप्सुलमा राखेको छ। उक्त प्रविधिलाई शताब्दीयौँसम्म सूचना सुरक्षित राख्न सक्ने विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

आईफोन १७ प्रो म्याक्स भविष्यमा चल्न नसके पनि यसको भौतिक स्वरूपले सन् २०२६ को स्मार्टफोन प्रविधि, डिजाइन र मानव सञ्चार संस्कृतिबारे भावी पुस्तालाई जानकारी दिने अपेक्षा गरिएको छ।