काठमाडौं — हिमालय टेलिभिजनले फिफा विश्वकप–२०२६ को फाइनल खेल दर्शकलाई निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ।
टेलिभिजन व्यवस्थापनका अनुसार फाइनल खेल हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपमार्फत निःशुल्क हेर्न सकिनेछ। यसअघि हिमालय स्पोर्टस् र डिगो एपमा खेल हेर्न सदस्यता आवश्यक पर्ने व्यवस्था भए पनि फाइनल खेलका लागि पेवाल हटाइएको हो।
फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क प्रसारणको व्यवस्था गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिएका छन्।
कँडेलका अनुसार फाइनल खेलका लागि हिमालय टेलिभिजनका सम्बन्धित प्लेटफर्ममा रहेको शुल्क तिर्नुपर्ने व्यवस्था हटाइएको छ। यससँगै नियमित सदस्यता नलिएका दर्शकले पनि हिमालय स्पोर्टस् र डिगो एपमार्फत खेल हेर्न पाउनेछन्।
फिफा विश्वकप–२०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे सुरु हुने जनाइएको छ।
विश्वकपको निर्णायक खेल टेलिभिजनसँगै मोबाइल एपबाट पनि निःशुल्क उपलब्ध हुने भएपछि दर्शकले आफूलाई सहज हुने माध्यमबाट प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

