काठमाडौं — रसुवा र नुवाकोट क्षेत्रमा हिमताल विस्फोट भएर भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सूचना फैलिँदा स्थानीयमा त्रास बढेपछि सम्बन्धित सरकारी निकायले तत्काल ठूलो बाढीको सम्भावना नदेखिएको स्पष्ट पारेको छ। शुक्रबार राति करिब ८:४० बजे जारी सूचनामा हालसम्म प्राप्त विवरणका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने अवस्था नदेखिएको जनाइएको छ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा रसुवा र नुवाकोटका हिमताल विस्फोट हुन सक्ने र त्यसबाट भोटेकोशीमा बाढी आउन सक्ने विवरण फैलिएपछि वास्तविक अवस्था बुझ्न ठूलो संख्यामा फोन सम्पर्क आएको सूचनामा उल्लेख छ।
सरकारी निकायले चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्क राखेर प्राप्त सूचनाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। त्यही सूचनाका आधारमा अहिले तत्काल ठूलो बाढीको सम्भावना नदेखिएको स्पष्ट पारिएको हो।
यससँगै पुष्टि नभएका सूचना र हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। जोखिमको अवस्था देखिए सम्बन्धित क्षेत्रका नागरिकलाई एसएमएसमार्फत पूर्वसूचना पठाइने सरकारी सूचनामा उल्लेख छ। थप आधिकारिक जानकारीका लागि बाढीसम्बन्धी टोल–फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
भोटेकोशी क्षेत्रमा जोखिमसम्बन्धी सूचनालाई संवेदनशील रूपमा लिनुपर्ने अवस्था भने कायमै छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोटलगायत नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो २ बजेसम्मको अद्यावधिकमा उक्त विपद्पछिको खोज, उद्धार र राहत कार्य दशौँ दिन पनि जारी रहेको जनाएको छ।
गत बाढीपछि नेपाल र चीनबीच सीमापार जलमौसम तथा जोखिमसम्बन्धी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय थप महत्त्वपूर्ण बनेको छ। भदौ १० मै जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम निकायबीच भएको छलफलमा चीनतर्फ मौसमजन्य जोखिम देखिए नेपाललाई जानकारी गराउने सहमति भएको थियो।
अहिलेको सूचनाको अर्थ भोटेकोशी क्षेत्रमा भविष्यको जोखिम पूर्ण रूपमा समाप्त भएको भन्ने होइन। सरकारी निकायले निरन्तर अनुगमन गरिरहेको र जोखिम देखिए पूर्वसूचना दिने जनाएको छ। त्यसैले नदी तटीय क्षेत्रका नागरिकले सामाजिक सञ्जालमा स्रोत नखुलेका सन्देशभन्दा सरकारी निकायबाट जारी हुने सूचना र एसएमएसलाई आधार बनाउनु उपयुक्त हुन्छ।









० प्रतिक्रिया