काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने तयारीमा रहेको आशयका समाचार तथा सामाजिक सञ्जाल पोस्टहरू सार्वजनिक भइरहेका बेला उनको अमेरिका भ्रमणबारे फरक–फरक विवरण देखिएका छन्।
पछिल्लो समय भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिपछि नेपालले अन्तर्राष्ट्रिय जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी गरेको सन्दर्भमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जान सक्ने चर्चा पुनः सुरु भएको छ। भारतको India Today ले सेप्टेम्बर २ मा प्रकाशित समाचारमा नेपालले ‘Loss and Damage’ सम्बन्धी विषय अन्तर्राष्ट्रिय स्तरमा उठाउन खोजिरहेको र प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यो मुद्दा उठाउन सक्ने उल्लेख गरेको छ।
तर यसअघि सार्वजनिक भएको सरकारी निर्णय भने फरक छ। मन्त्रिपरिषद्ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शाहले नभई परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा हुने प्रतिनिधिमण्डलले गर्ने निर्णय गरेको समाचार प्रकाशित भएको थियो।

यसबीच प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने सरकारी पक्षबाट सार्वजनिक अभिव्यक्ति पनि आएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अगस्ट २७ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुनेमा आफू विश्वस्त रहेको र भ्रमणको मिति तय हुन बाँकी रहेको बताएका थिए।
त्यसैले अहिले सामाजिक सञ्जालमा फैलिएको ‘प्रधानमन्त्री बालेन शाह अमेरिका जाँदै’ भन्ने सूचनालाई निश्चित भइसकेको भ्रमणका रूपमा प्रस्तुत गर्नु हतारो हुन्छ। उपलब्ध विवरणले बाढी र जलवायु क्षतिपूर्तिको मुद्दाका कारण प्रधानमन्त्रीको सम्भावित न्यूयोर्क भ्रमणबारे नयाँ चर्चा भएको देखाए पनि यसअघि महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भइसकेको छ।
प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालयबाट भ्रमणको नयाँ औपचारिक कार्यतालिका सार्वजनिक भएमा मात्रै प्रधानमन्त्री शाह अमेरिका जाने विषय निश्चित हुनेछ।









० प्रतिक्रिया