काठमाडौं — प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उजुरी दिएकी छन्।
उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले प्राप्त उजुरीका विषयमा अध्ययन भइरहेको जनाएको छ।
ठाकुरले जनआस्थामा पछिल्लो समय प्रकाशित सामग्रीका कारण आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक छविमा क्षति पुगेको दाबी गरेकी छन्। सोही सामग्रीलाई आधार बनाउँदै उनले श्रेष्ठमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेकी हुन्।
श्रेष्ठविरुद्ध नयाँ उजुरी परेको दिन नै सर्वोच्च अदालतले उनलाई यसअघि पक्राउ गरिएको अर्को मुद्दामा हिरासतमुक्त गर्न आदेश दिएको थियो। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासतबाहिर राखेर अनुसन्धान जारी राख्न आदेश दिएको हो।
यसअघिको मुद्दा सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशनसँग जोडिएको थियो। जनआस्था अनलाइनले अगस्ट ९ मा चौधरी र एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित गरेपछि व्यक्तिगत गोपनीयता उल्लंघन भएको आरोपमा दीपिका सिंहले श्रेष्ठविरुद्ध उजुरी दिएकी थिइन्। त्यसपछि अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेका थिए।
सोमबार काठमाडौं जिल्ला अदालतले प्रहरीलाई श्रेष्ठमाथि अनुसन्धान गर्न थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर त्यसै दिन सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भन्दै रिहा गर्न आदेश दिएको हो।
यसैबीच उपसभामुख ठाकुरबाट अर्को उजुरी परेसँगै श्रेष्ठसँग सम्बन्धित कानुनी विषयमा नयाँ घटनाक्रम थपिएको छ। नयाँ उजुरीमाथि भने ललितपुर प्रहरीले अध्ययन गरिरहेको जनाएको छ।









० प्रतिक्रिया