काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नाग पञ्चमी पर्व परम्परागत रूपमा नागदेवताको पूजा–आराधना गरी मनाइँदैछ। सनातन परम्पराअनुसार घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार नागको पूजा गरी घरको ढोकामा नागको चित्र टाँस्दा सर्प, बिच्छीलगायत जीवबाट हुने भयका साथै अग्नि, मेघ र चट्याङको जोखिमबाट रक्षा हुने मान्यता रहिआएको छ। नागलाई पानी र वर्षासँग समेत जोडेर हेर्ने वैदिक परम्परा रहेको पाइन्छ।
वैदिक सनातन परम्परामा नागलाई विशेष स्थान दिइएको छ। भगवान् शिवको आभूषणका रूपमा नागको वर्णन पाइन्छ भने भगवान् विष्णुलाई शेषनागमाथि शयन गरेको स्वरूपमा चित्रण गरिन्छ। विभिन्न धार्मिक ग्रन्थ र पौराणिक कथामा समेत नागसँग सम्बन्धित प्रसङ्ग उल्लेख छन्।
आठ नागको विशेष पूजा
नाग पञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने परम्परा छ। पुरोहितद्वारा पूजा गरिएको नागको चित्र घरको मूलढोकामाथि टाँस्ने चलन नेपाली समाजमा लामो समयदेखि कायम छ।
यस दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ।
नागस्थानमा विशेष पूजा
नाग पञ्चमीका अवसरमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशका विभिन्न नागदह, कुण्ड तथा नागस्थानमा श्रद्धालुहरू पुगेर पूजा गर्ने परम्परा छ। नागदेवतालाई अक्षता, दुबो, खीर, रोटीलगायत सामग्री चढाइन्छ।
नाग पञ्चमी धार्मिक आस्थासँग मात्र नभई प्रकृति, पानीका स्रोत र जीवजन्तुप्रतिको सम्मानसँग समेत जोडिएको पर्वका रूपमा नेपाली समाजमा मनाइँदै आएको छ।

० प्रतिक्रिया