काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालमा नवप्रवर्तनको वातावरण सुदृढ बनाउन सरकारले कानुनी र नीतिगत सुधार अघि बढाउने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नवप्रवर्तकलाई अनुसन्धानदेखि उत्पादन, बौद्धिक सम्पत्ति अधिकार, लगानी र बजारीकरणसम्म राज्यको संस्थागत सहयोग आवश्यक रहेको बताएका हुन्।
मन्त्री पुनले सार्वजनिक गरेका पाँच प्राथमिकतामा उपयोगी वस्तु वा सेवाको प्रोटोटाइप (Prototype) विकासमा सहयोग, सफल नमुनालाई बजारयोग्य उत्पादन (Product) मा रूपान्तरण गर्न सहयोग, पेटेन्ट, प्रतिलिपि अधिकार (Copyright) र ट्रेडमार्क (Trademark) प्राप्त गर्ने प्रक्रिया सहज बनाउने, नवप्रवर्तक र लगानीकर्ताबीच सहकार्य गराई व्यावसायीकरणमा सहजीकरण गर्ने तथा नयाँ उत्पादन र सेवाको प्रवर्द्धन एवं बजारीकरणमा सरकारी सहयोग गर्ने विषय समावेश छन्।
मन्त्री पुनले यी विषयलाई कानुनी रूपमा कार्यान्वयन गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन निर्माणलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरेका छन्। मन्त्रालयले यसअघि नयाँ मन्त्रालयको कानुनी र संस्थागत संरचना निर्माण प्रक्रिया अघि बढाएको जानकारी पनि दिएको छ।