काठमाडौं । भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्षरत रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उहाँको निधनको पुष्टि उहाँका प्रबन्धक (म्यानेजर) ले गरेका छन् भने अन्त्येष्टि बुधबार गरिने जनाइएको छ।

नेपाली अभिनेत्री बिपना थापाले पनि टेकपानासँग कुराकानी गर्दै प्रदीप रावतको निधन भएको पुष्टि गरेकी छन्। उनका अनुसार रावतकी श्रीमतीले भिडियो कलमार्फत निधनको जानकारी गराएकी हुन्। बिपना थापाले हाल रावतको शव अस्पतालबाट घर ल्याइँदै रहेको जानकारीसमेत दिएकी छन्।

प्रदीप रावत हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम चलचित्रमा खलनायक पात्रका लागि विशेष रूपमा परिचित थिए। विशेषगरी ‘लगान’, ‘घजिनी’, ‘सरफरोश’ लगायतका चलचित्रमा उनको अभिनयले दर्शकमाझ गहिरो छाप छोडेको थियो।

उनको निधनको खबर सार्वजनिक भएपछि भारतीय फिल्म उद्योग शोकमा डुबेको छ। कलाकार, निर्देशक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। रावतको सशक्त अभिनय र बहुआयामिक भूमिका भारतीय सिनेमामा लामो समयसम्म सम्झिइने विश्वास गरिएको छ।