सुनसरी जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशअनुसार २०८३ साउन ११ गते बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी हरिनगरा, भुटाहा, कचनकवल (कसैनागञ्ज), घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कर्फ्यु लगाइएको हो।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।
आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही हुने र स्थानीय प्रशासन ऐनबमोजिम जरिवाना तथा कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।
प्रशासनले सुरक्षा अवस्था सामान्य नभएसम्म कर्फ्यु यथावत् रहने जनाएको छ। साथै नागरिकलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्रै अनुसरण गर्न र सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।



0 प्रतिक्रिया