काठमाडौं। संघीय सरकारको आर्थिक कारोबारमा देखिएको बेरुजु रकम एक वर्षमा १५.६ प्रतिशतले वृद्धि हुँदै १० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनले सरकारी खर्च व्यवस्थापन, आर्थिक पारदर्शिता र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको बेरुजु ९ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। तर, गत आर्थिक वर्षमा यो रकम १ अर्ब ४४ करोड रुपैयाँले बढेर १० अर्ब ६८ करोड १५ लाख ८० हजार रुपैयाँ पुगेको हो।
म्याद नाघेको पेस्की सबैभन्दा बढी
महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनअनुसार कुल बेरुजुमध्ये ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने देखिएको छ। त्यस्तै, १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ नियमित गर्नुपर्ने र ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी म्याद नाघेको पेस्कीका रूपमा रहेको छ।
म्याद नाघेको पेस्की रकम सबैभन्दा ठूलो हिस्सा भएकाले सरकारी निकायमा रकम निकासा, खर्च तथा समयमै हिसाब फर्छ्योट गर्ने प्रक्रियामा सुधार आवश्यक देखिएको छ।
पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी बेरुजु
मन्त्रालयगत विवरणअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी ४ अर्ब १९ करोड रुपैयाँ बेरुजु देखिएको छ। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ३ अर्ब २३ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १ अर्ब ३२ करोड रुपैयाँ तथा सहरी विकास मन्त्रालयमा ७८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ।
विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूमा ठूलो रकम बेरुजु देखिनुले आयोजना व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रिया र सरकारी खर्चको प्रभावकारिताबारे थप समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
पूँजीगत खर्च न्यून, अनियमितता बढी
गत आर्थिक वर्षमा सरकारले पूँजीगत खर्चका लागि ४ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो। तर, त्यसमध्ये करिब १ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
पूँजीगत खर्चतर्फ ५ अर्ब ७८ करोड रुपैयाँ बेरुजु देखिएको छ। विकासका लागि छुट्याइएको बजेट प्रभावकारी रूपमा खर्च हुन नसक्नु र खर्च भएका रकममा समेत प्रक्रियागत त्रुटि देखिनुले सरकारी विकास योजनाको कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
बेरुजु बढ्नुका प्रमुख कारण
प्रतिवेदनले बेरुजु बढ्नुका विभिन्न कारण औँल्याएको छ। तीमध्ये स्वीकृत मापदण्डविपरीत खर्च गर्नु, खरिद प्रक्रियामा प्रतिस्पर्धा नगर्नु, आवश्यक कागजात र प्रमाणबिना भुक्तानी गर्नु, राजस्व समयमै दाखिला नगर्नु तथा कर्मचारीबाट हुने प्रक्रियागत त्रुटि प्रमुख रहेका छन्।
त्यस्तै, गत आर्थिक वर्षमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन, आर्थिक अभिलेख तथा भौतिक संरचनामा पुगेको क्षतिले पनि लेखापरीक्षण र प्रशासनिक प्रक्रियामा चुनौती थपेको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक पारदर्शिता र जवाफदेहितामा जोड
महालेखा नियन्त्रक कार्यालयले सरकारी आर्थिक कारोबारलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन आवश्यक सुधार गर्नुपर्ने सुझाव दिएको छ। सार्वजनिक रकमको सही उपयोग, समयमै पेस्की फर्छ्योट तथा कानुनी प्रक्रियाअनुसार खर्च व्यवस्थापन गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्ने देखिएको छ।
सरकारी बेरुजु बढ्दै जानुले सार्वजनिक खर्चको प्रभावकारिता र वित्तीय सुशासनको अवस्थाबारे नागरिकस्तरमा समेत चासो बढाएको छ। अब सरकारले बेरुजु घटाउने, अनियमितता नियन्त्रण गर्ने र विकास बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने दिशामा ठोस कदम चाल्नुपर्ने देखिन्छ।









० प्रतिक्रिया