काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राकृतिक विपद्का कारण देश गम्भीर संकटमा रहेका बेला सरकार थाकेर वा विश्राम गरेर बस्ने अवस्था नरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्को समयमा नेतृत्वले जनतालाई आँसु होइन, साहस, साथ र विश्वास दिनुपर्ने बताए। मुलुक संकटमा रहेका कारण सरकारका सबै संयन्त्र प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित भएर दिनरात काम गरिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको स्मरण गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
अझै पनि आफ्ना आफन्त तथा परिवारका सदस्यको खोजीमा रहेका नागरिकको पीडा आफूले गहिरो रूपमा महसुस गरेको प्रधानमन्त्री शाहले बताए। उनले यो पीडा केवल रसुवा, नुवाकोट वा धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको उल्लेख गरे।
सरकारले विपद्पछिको उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा पनि राज्यका सबै निकाय एकजुट भएर नागरिकको जीवनरक्षाका लागि परिचालित हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको सम्बोधनमा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, बेपत्ताको खोजीलाई निरन्तरता दिने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणतर्फ सरकार केन्द्रित रहेको सन्देश दिइएको छ।









० प्रतिक्रिया