काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा जारी बेल्ट एन्ड रोड सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपाली युवा खेलाडीहरूको ब्याटिङ र बलिङ दुवै पक्षमा देखिएको प्रभावशाली प्रदर्शनले टोलीलाई प्रतियोगितामा दोस्रो जित दिलाएको छ।
चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमा ४४ रन बनाइन्। उनले पाँच चौका र तीन छक्का प्रहार गर्दै टोलीको स्कोर बढाउन महत्वपूर्ण भूमिका खेलिन्।
त्यस्तै, ओपनर सावित्री धामीले २६ बलमा ३६ रनको योगदान दिइन्। त्रिशना बीकेले १२ रन, रचना चौधरीले ११ रन तथा एन्जेला पाठकले अविजित १३ रन बनाइन्। नेपाली ब्याटरहरूको योगदानले हङकङसामु १४७ रनको लक्ष्य प्रस्तुत गर्न नेपाल सफल भयजवाफी ब्याटिङमा उत्रिएको हङकङको टोली नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन। निर्धारित लक्ष्य पछ्याउने क्रममा हङकङ १८ ओभरमा ५४ रनमै समेटियो। उसका वाङ तुङ सो र मान केइ लेउङले समान १२–१२ रन बनाए। अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि रचना चौधरी र मनिषा चौधरीले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए। त्यस्तै, साक्षी यादवले दुई विकेट हात पारिन्। नेपाली बलरहरूले नियमित रूपमा विकेट लिँदा हङकङको ब्याटिङ क्रम पूर्ण रूपमा दबाबमा परेको थियो।
यस खेलमा कप्तान सोनी पाख्रिन प्लेयर अफ द म्याच घोषित भइन्। उनको आक्रामक ब्याटिङ र बलरहरूको सामूहिक प्रदर्शन नेपालको जितको मुख्य आधार बन्यो।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। चीनविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। हङकङविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
नेपालले सन् २०२७ मा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपलाई लक्षित गर्दै चीनमा यो प्रतियोगिता खेलिरहेको छ। यस प्रतियोगितामा नेपाल, चीन, हङकङ र थाइल्यान्डका टोली सहभागी छन्।
नेपाली महिला क्रिकेटमा उदाउँदै गरेका युवा खेलाडीहरूको यस्तो प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताप्रति समर्थकहरूमा नयाँ उत्साह थपेको छ। अब नेपाली टोलीको लक्ष्य आगामी खेलहरूमा पनि यही लय कायम राख्दै प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्नु हुनेछ।
नेपालको यो जितले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली युवा महिला खेलाडीहरूको क्षमता र सम्भावनालाई फेरि एकपटक उजागर गरेको छ।
स्रोत: नेपाल न्युज, अनलाइनखबर तथा हिमाल प्रेस।