बाढीपीडितको खोजी अभियान बन्द, अब पुनर्स्थापना र पुनर्निर्माणमा जोड
काठमाडौं, असोज २१। देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार अभियान सरकारले औपचारिक रूपमा बन्द गरेको छ। लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी राखिए पनि सबै बेपत्ताको अवस्था पत्ता लगाउन नसकिएपछि अब सरकारको प्राथमिकता पुनर्स्थापना र पुनर्निर्माणतर्फ केन्द्रित हुने भएको हो।
बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। सडक, पुल, घर, विद्युत् संरचना तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ।
सरकारले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने तथा विस्थापित नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।
यसैबीच, स्थानीय तह र सम्बन्धित निकायलाई बाढीबाट प्रभावित परिवारको विवरण संकलन गरी आवश्यक राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरिएको छ।