काठमाडौं, कात्तिक २६। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा छुट पाउने सुविधा प्राप्त गरेसँगै रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
काठमाडौं जिल्ला अदालतले रायमाझीको निवेदनका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद सजायमा २५ प्रतिशत छुट दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अदालतले कारागारमा संशोधित कैदीपुर्जी पठाएपछि उनी रिहा भएका हुन्।
रायमाझीलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
उनी २०८० वैशाखमा पक्राउ परेका थिए। करिब साढे तीन वर्ष कारागारमा बिताएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा उनको रिहाइ भएको हो।
यस प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको थियो। घटनामा उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसमेत मुछिएका थिए।
रायमाझीको रिहाइसँगै चर्चित नक्कली भुटानी शरणार्थी प्रकरण पुनः राजनीतिक तथा सार्वजनिक बहसको विषय बनेको छ।