धनगढी । कैलाली र कञ्चनपुरमा मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षा हुँदा नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने र होचा तथा तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले सावधानी आवश्यक रहेको बताइएको छ।
कञ्चनपुरतर्फ महाकाली, दोदा र भुजेला तथा कैलालीतर्फ खुटिया, कान्द्रा, मोहना र चौधरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा विशेष निगरानी आवश्यक रहेको छ।
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र नागरिकलाई मौसम तथा नदीको जलस्तरसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ। नदी तर्न नखोज्ने, बालबालिकालाई नदी तथा खोलाको आसपास जान नदिने र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जानुपर्ने सुझाव दिइएको छ।
सुदूरपश्चिममा कञ्चनपुर र कैलाली बाढी तथा डुबानका दृष्टिले संवेदनशील जिल्ला मानिन्छन्। त्यसैले वर्षा सुरु भएसँगै स्थानीय तह, प्रशासन, सुरक्षा निकाय र नागरिकबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।









० प्रतिक्रिया