एक महिनादेखि राजदुवाली सडक अवरुद्ध, यात्रु र स्थानीयवासीलाई सास्ती
इलाम, साउन २७ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड पहिरोका कारण एक महिनादेखि अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ हुने यातायात तथा दैनिक आवतजावत प्रभावित भएको छ।
गत असार २३ गते लेदोसहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरोसँगै सडकसमेत भासिएकाले तत्कालै पूर्ण रूपमा यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
सडक अवरुद्ध भएपछि यात्रुहरूले पहिरो प्रभावित क्षेत्रमा करिब डेढ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा अशक्त यात्रुलाई समस्या भएको छ। सुरक्षाकर्मीहरूले आवश्यक परेका यात्रुलाई स्टेचरमार्फत पहिरो क्षेत्र पार गराउँदै आएका छन्।
सडक खुलाउन सडक डिभिजन कार्यालय इलाम, स्थानीयवासी तथा सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्। पहिरो पन्छाएर भासिएको सडक पुरेर ग्राभेल गर्ने तथा सडकको भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने तयारी भइरहेको छ। तर लगातारको वर्षाका कारण सडक दलदलमा परिणत हुँदा काम अघि बढाउन कठिनाइ भइरहेको बताइएको छ।
सडक अवरोधको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत परेको छ। ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा साना गाडीमार्फत सामान ढुवानी गर्नुपर्ने अवस्था आएपछि ढुवानी खर्च बढेको स्थानीय व्यवसायीहरूले बताएका छन्। यसबाट बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत बढ्ने जोखिम देखिएको छ।
राजदुवाली सडकखण्ड लामो समयसम्म बन्द रहँदा इलामसँगै पाँचथर र ताप्लेजुङका नागरिकलाई झापा तथा अन्य जिल्लासँगको यातायात सम्पर्कमा समेत समस्या भइरहेको छ। वर्षा जारी रहेकाले सडक तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने विषय अझै अनिश्चित देखिएको छ।
सडकको शीघ्र पुनर्निर्माण गरी नियमित यातायात सञ्चालनमा ल्याउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्
एक महिनादेखि राजदुवाली सडक अबरुद्ध









० प्रतिक्रिया