काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न चाहने नेपाली तथा अन्य व्यक्तिले अब विदेशबाट आइएमईमार्फत सरकारी राहत कोषमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
विदेशमा रहेका नेपाली तथा सहयोग गर्न चाहने जोकोहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम पठाउँदा आइएमेमार्फत कुनै सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको हो।
कम्पनीका अनुसार विभिन्न बैंकमा रहेका सरकारी कोषका खातामा विदेशबाट सिधै रकम जम्मा गर्न सकिनेछ। यसले विपद्का बेला विदेशमा रहेका नेपाली तथा सहयोगी व्यक्तिलाई नेपालमा राहत रकम पठाउन थप सहज बनाउने अपेक्षा गरिएको छ।
सामान्यतया विदेशबाट रकम पठाउँदा रेमिट्यान्स सेवा शुल्क लाग्ने भए पनि सरकारी राहत तथा उद्धार कोषका लागि पठाइने सहयोगमा शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट सहयोग गर्न चाहने व्यक्तिले पठाएको रकम सरकारी कोषमा सहज रूपमा जम्मा गर्न सक्नेछन्।
त्यस्तै, नेपालभित्रबाट पनि खल्ती वालेटमार्फत सरकारी राहत कोषमा रकम सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। खल्तीमार्फत रकम जम्मा गर्दा समेत प्रयोगकर्ताले कुनै अतिरिक्त सेवा शुल्क तिर्नु नपर्ने जनाइएको छ।
प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा देश तथा विदेशबाट सहयोग जुट्ने गरेको छ। आइएमई र खल्तीमार्फत उपलब्ध गराइएको निःशुल्क सुविधाले सहयोग गर्न चाहने व्यक्तिका लागि रकम पठाउने प्रक्रिया अझ सरल र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।
यस व्यवस्थासँगै विदेशमा रहेका नेपालीले आइएमईमार्फत र नेपालभित्र रहेका व्यक्तिले खल्तीमार्फत सम्बन्धित सरकारी राहत कोषमा आफ्नो इच्छाअनुसार सहयोग रकम जम्मा गर्न सक्नेछन्।







० प्रतिक्रिया