काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उच्च पदस्थ नेपालीहरूको विदेशमा रहेको सम्पत्ति खोजी गर्न विशेष टास्क फोर्स गठन गर्न सरकारसँग प्रस्ताव गरेका छन्।
सांसद केसीले बंगलादेशले उच्च पदस्थ व्यक्तिहरूको विदेशमा रहेको सम्पत्ति खोज्न विशेष टास्क फोर्स गठन गरेको उदाहरण दिँदै नेपालले पनि यस्तै पहल गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार विदेशका बैंक तथा सम्बन्धित निकायलाई पत्राचार गरी नेपाली नागरिकको विदेशमा रहेको सम्पत्तिबारे आवश्यक सूचना संकलन गर्न सकिन्छ। उनले भ्रष्टाचारबाट विदेशमा पुर्‍याइएको हुन सक्ने रकमको खोजी तथा अनुसन्धानलाई प्रभावकारी बनाउन विशेष संयन्त्र आवश्यक रहेको बताए।
केसीले सिंगापुर, कम्बोडिया र स्विस बैंकलगायत विभिन्न देश तथा वित्तीय संस्थामा रहेको सम्भावित नेपाली सम्पत्तिबारे समेत अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।
उनले मुलुक बाहिर हुने भ्रष्टाचार तथा अवैध सम्पत्ति स्थानान्तरण रोक्न कारोबार र पहिचानसम्बन्धी सूचनाको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।