बाजुरा — लामो समयदेखि टेलिफोन तथा इन्टरनेट सेवाको समस्या झेल्दै आएको बाजुराको प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा अब ४जी सेवा विस्तार गर्ने तयारी अघि बढाइएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा ४जी सेवा सञ्चालन गर्ने लक्ष्य नेपाल टेलिकमले राखेको छ।

दुर्गम भूगोल र सडक पहुँचको कठिनाइका कारण टावर निर्माणका आवश्यक उपकरण ढुवानीमा समेत चुनौती रहेको बताइएको छ। त्यसैले आवश्यक सामग्री हेलिकप्टरमार्फत लैजाने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। टावर निर्माणका सामग्री धनगढीसम्म पुर्‍याइसकिएको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए कामलाई तीव्रता दिन सकिने नेपाल टेलिकमले जनाएको छ।

बडीमालिका क्षेत्रमा नेटवर्कको अभावका कारण स्थानीय बासिन्दासँगै त्यहाँ पुग्ने तीर्थयात्री तथा पर्यटकहरूले पनि लामो समयदेखि सञ्चार समस्याको सामना गर्दै आएका छन्। ४जी सेवा सञ्चालनमा आएपछि फोन तथा इन्टरनेट प्रयोगमा सहजता आउने र पर्यटकीय क्षेत्रमा डिजिटल पहुँच बढ्ने अपेक्षा गरिएको छ।

दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने योजनाअन्तर्गत बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।