काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको माग गरेको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (COP31) मा सहभागी नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण र जलवायु संकटको सामना गर्न विश्व समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
टर्कीको अन्ताल्यामा जारी सम्मेलनअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको उल्लेख गरे। यसको प्रभाव विश्व अर्थतन्त्र, पर्यावरण, जलस्रोत तथा मानव जीवनमा समेत परिरहेको उनको भनाइ थियो।
उनले हिमालमा हिउँ पग्लिने क्रम तीव्र हुनु, हिमनदीहरू खुम्चिँदै जानु तथा प्राकृतिक विपद्को जोखिम बढ्नु गम्भीर चुनौतीका रूपमा देखिएको बताए। यस्ता समस्याले नेपालसहित हिमाली क्षेत्रका विभिन्न देशको जनजीवन र विकासमा प्रत्यक्ष असर पारिरहेको उनले उल्लेख गरे। नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि पाँचवटा प्रमुख प्राथमिकता अघि सारेको छ। जसमा हरितगृह ग्यास उत्सर्जन घटाउने, अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने, प्राकृतिक विपद्बाट भएको क्षतिको उचित व्यवस्थापन गर्ने, वैज्ञानिक निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र संयुक्त राष्ट्रसंघको जलवायु कार्यसूचीमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकता दिने विषय समेटिएका छन्।
मन्त्री खनालले विपद्बाट प्रभावित तथा जोखिममा रहेका देशलाई ऋणको भार थप्नेभन्दा पनि सहज रूपमा उपलब्ध हुने अनुदान र प्राविधिक सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।
उनले हिमाली क्षेत्रमा हिमनदीको नियमित निगरानी, भू–उपग्रह प्रविधिको प्रयोग, क्षेत्रीय तथ्यांक आदानप्रदान तथा प्रभावकारी पूर्वसूचना प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपालले हिमालदेखि समुद्रसम्म जोडिने वातावरणीय चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्यको अवधारणासमेत अघि सारेको छ। यसले हिमाली तथा तटीय क्षेत्रका समुदायबीच अनुभव, सूचना र प्रविधि आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असरबाट नेपालजस्ता हिमाली देशहरू बढी प्रभावित भइरहेका छन्। त्यसैले हिमाली क्षेत्रको संरक्षण, प्राकृतिक विपद् न्यूनीकरण र प्रभावित समुदायको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
जलवायु परिवर्तनको असरप्रति नेपालको चिन्ता, हिमाली क्षेत्रको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग माग
काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको माग गरेको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्…









० प्रतिक्रिया