काठमाडौं । नेपालको जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी प्रसिद्ध म्यागजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा समावेश भएका छन्।

नेपालका लागि अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस घटनाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको आवाज विश्वमञ्चमा पुर्‍याउने प्रयासलाई थप चर्चा दिलाएको छ।

टाइम म्यागजिनले वाग्लेलाई सूचीमा समावेश गर्नुको मुख्य कारण जलवायु न्यायका लागि उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि गरेको पहल तथा दिगो आर्थिक विकाससम्बन्धी योगदानलाई मानेको छ।

गत अगस्ट २६ मा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले जलवायु परिवर्तनबाट हुने क्षति र त्यसको जिम्मेवारीका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको थियो। उक्त विपद्मा १ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ नागरिक विस्थापित भएको विवरण सार्वजनिक भएको थियो।

वाग्लेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असर भने नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकले ठूलो मात्रामा भोग्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउँदै आएका छन्।

विपद्पछि नेपालले जलवायुजन्य क्षतिको क्षतिपूर्ति तथा पुनर्निर्माण सहयोगका लागि चीन, अमेरिका र भारतजस्ता प्रमुख उत्सर्जक मुलुकसमक्ष आफ्नो माग प्रस्तुत गरेको थियो। पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघले अक्टोबर २२ मा ‘लस एन्ड ड्यामेज फन्ड’ अन्तर्गत नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो। जलवायुजन्य विपद्बाट प्रभावित देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कोषबाट नेपालले सहयोग पाउनु महत्वपूर्ण विषय बनेको छ।

टाइमको उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि समावेश छन्।

यसैक्रममा अर्थमन्त्री वाग्ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्कीको आन्ताल्या प्रस्थान गरेका छन्। नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलनका लागि सहयोग तथा हिमाली क्षेत्रको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

नेपालका हिमाल, हिमनदी, जलस्रोत तथा प्राकृतिक सम्पदामा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा नेपालको आवाज बलियो बनाउनु आवश्यक देखिएको छ।

टाइम म्यागजिनको सूचीमा अर्थमन्त्री वाग्ले समावेश हुनुले नेपालको जलवायु कूटनीति र जलवायु न्यायसम्बन्धी अभियानलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।