नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–४, बटारस्थित भित्री सडकखण्डमा विद्युतीय गाडी (EV) र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार २०८३ कात्तिक २ गते दिउँसो करिब ३:३० बजे हवाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख. ९९११ नम्बरको EV गाडी र संगमचोकबाट हवाघरतर्फ आउँदै गरेको बा.३८ प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा बटार निवासी करिब ४४ वर्षीय नवराज दाहालको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि सुकर्मा चक्रदेव अस्पताल लगिएको थियो। थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल रिफर गरिएका दाहाललाई अस्पतालमा दिउँसो ४:४६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि EV चालक र दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। दुर्घटनाको थप विवरण तथा कारणबारे सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।
स्वर्गीय नवराज दाहालप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना।