काठमाडौं। रसुवा तथा भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा विनाश निम्त्याएको अगस्ट २६ को विपद्बारे अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले प्रारम्भिक वैज्ञानिक विश्लेषण सार्वजनिक गरेको छ। USGS का अनुसार चीनसँगको सीमाक्षेत्रनजिक लाङटाङ राष्ट्रिय निकुञ्जमा हिमनदीसमेत संलग्न रहेको तीव्र ढलान विफलता (slope failure) ले विशाल मलबा प्रवाह र बाढी निम्त्याएको हुनसक्ने देखिएको छ।
USGS को Landslide Hazards Program ले सार्वजनिक गरेको विवरणअनुसार उक्त मलबा र बाढी लेन्दे खोला हुँदै त्रिशूली नदी प्रणालीमा करिब १०० किलोमिटर (६२ माइल) यात्रा गरेको थियो। यसको प्रभाव चीन–नेपाल सीमास्थित रसुवागढीसहित नदी तटीय विभिन्न बस्ती तथा पूर्वाधारमा परेको छ।
अमेरिकी वैज्ञानिक संस्थाले घटनालाई ‘2026 Nepal Debris Avalanche and Flash Flood’ नाम दिएर छुट्टै घटना पृष्ठसमेत तयार गरेको छ। अगस्ट २७ र २८ मा तत्कालीन विपद् प्रतिकार्यलाई सहयोग गर्ने उद्देश्यले तयार गरिएको उक्त पृष्ठमा भूउपग्रहबाट प्राप्त तस्बिर प्रयोग गरी बाढी तथा मलबाले डुबाएको वा प्रभावित बनाएको क्षेत्रको सीमा नक्साङ्कन गरिएको छ।
USGS को अर्को महत्त्वपूर्ण प्रारम्भिक निष्कर्षअनुसार पहिलो विशाल ढलान विफलताबाट उत्पन्न ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्प बराबर थियो। करिब तीन घण्टापछि अर्को भूकम्पीय संकेत रेकर्ड गरिएको थियो, जसबाट उत्पन्न ऊर्जा ४.२ म्याग्निच्युडको भूकम्प बराबर रहेको संस्थाले जनाएको छ।

तर यसको अर्थ विपद् भूकम्पका कारण भएको भन्ने होइन। USGS ले पहिलो घटना हिमनदीको भाग समेटिएको भूस्खलन थियो वा हिमनदी आफैंको भाग भत्किएको ‘ग्लेसियल कोल्याप्स’ थियो भन्ने विषय तत्काल स्पष्ट नभएको जनाएको छ। त्यसैले वैज्ञानिक अनुसन्धान पूरा नभएसम्म घटनाको कारणलाई निश्चित रूपमा एउटै प्रक्रियासँग जोड्न नमिल्ने देखिन्छ।
USGS को प्रारम्भिक व्याख्याअनुसार खसेको सामग्रीमा ठूलो मात्रामा बरफ र पानी थियो। तलतर्फ तीव्र गतिमा झर्दै जाँदा बरफ पग्लियो र त्यसले नदी तथा खोलाबाट थप पानी, ढुंगा र अन्य मलबा समेट्दै विशाल तथा लामो दूरीसम्म पुग्ने विनाशकारी प्रवाहको रूप लियो।
उक्त क्षेत्रमा पहिलेदेखि नै ठूलो भूगर्भीय जोखिम रहेको इतिहाससमेत USGS ले औँल्याएको छ। सन् २०१५ को ७.८ म्याग्निच्युडको गोरखा भूकम्पका क्रममा यही पर्वतीय क्षेत्रमा ठूलो मलबा हिमपहिरो गएको थियो। त्यतिबेला करिब पाँच हजार मिटर उचाइबाट लाखौँ घनमिटर बरफ र मलबा झरेर एउटा बस्ती पुरिएको तथा दुई सयभन्दा बढीको मृत्यु भएको USGS को विवरण छ।
यसपटक USGS वैज्ञानिकहरूले विपद्अघि र पछिका भूउपग्रह तस्बिर तुलना गरी नयाँ प्रभावित क्षेत्र, बाढी तथा मलबाको फैलावट र जमिनमा आएको परिवर्तन पहिचान गरेका छन्। संस्थाले घटनाको फैलावट देखाउने नक्सासमेत सार्वजनिक गरेको छ, जुन ‘Public Domain’ अन्तर्गत उपलब्ध छ।
USGS ले यी निष्कर्षलाई भने प्रारम्भिक तथा परिवर्तन हुन सक्ने वैज्ञानिक जानकारी भनेर स्पष्ट पारेको छ। त्यसैले सामाजिक सञ्जालमा ‘अमेरिकाले भोटेकोशी बाढीको अन्तिम कारण पत्ता लगायो’ भनेर प्रस्तुत गर्नु सही हुँदैन। अहिलेसम्मको आधिकारिक अमेरिकी निष्कर्षले हिमनदी संलग्न तीव्र ढलान विफलतालाई सम्भावित प्रारम्भिक कारण मानेको छ, तर त्यो हिमनदीको प्रत्यक्ष पतन थियो वा हिमनदीसमेत समेटिएको भूस्खलन भन्ने विषय अझै निश्चित गरिएको छैन।









० प्रतिक्रिया